काठमाडौं । बृहत प्रोपर्टी सोलुसन्स् (बीपीएस) ले आयोजना गरेको १७औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालीम सम्पन्न भएको छ । ‘बीपीएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’अन्तर्गतको कम्पनी हो ।

बिहीवारदेखि शनिवारसम्म काठमाडौंमा आयोजित १७औं ब्याचको रिमा तालीममा रियल इस्टेट एजेन्ट र व्यावसायिक प्रतिष्ठान समेतका १२ जना सहभागी थिए । १७औं रिमा ब्याचमा रियल इस्टेट क्षेत्रमा काम गर्दै आएका व्यक्ति र रियल इस्टेट लगानीकर्ताहरूको सहभागिता थियो । 

समयानुकूल आफ्नो ज्ञान र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालीम आयोजना गरिएको बीपीएसले जानकारी दिएको छ । तालीममा रियल इस्टेट करिअरबारे आधारभूत जानकारीका साथै घर निर्माण, इन्जीनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन् र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एन्ड टेक्निकलगायत विषयमा जानकारी दिइएको थियो । 

रियल इस्टेट क्षेत्रका विज्ञ ओम राजभण्डारीका साथै पूर्णिमा राजभण्डारी, रुद्र पोखरेल, रेबन्त श्रेष्ठ, निश्चलमान सिंह प्रधान, निभा श्रेष्ठ र सुमन थापा मगरले प्रशिक्षण दिएका थिए ।